काठमाडौं, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद युवराज शर्मा र मदनकुमारी शाह गरिमाले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न आग्रह गरेका हुन्।
सांसदहरूले विपद्पछि प्रचारभन्दा खोजी, उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। साथै जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको विपद्को विषय अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्नेमा जोड दिए।
प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म बाढीमा परी ९८७ जनाको मृत्यु, ३ हजार ९१६ जना बेपत्ता र २७९ जना घाइते भएका छन्। हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ।














