जनकपुर, १२ भदौ । देशभर आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरी तथा कुण्डमा स्नान गरी पुरोहितबाट रक्षासूत्र बाँध्नुका साथै नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने परम्परा छ।
यस दिन ऋषिहरूको पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ। जनैपूर्णिमाका अवसरमा विभिन्न मठमन्दिर तथा तीर्थस्थलमा भक्तजनको भीड लाग्ने गरेको छ।
यस्तै, आज ११ प्रकारका गेडागुडीबाट तयार पारिएको क्वाँटी खाने चलन छ। तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर पर्व मनाउने गर्छन्। जनकपुरधाम, गोसाइँकुण्ड, मणिचूड, कुम्भेश्वर, पाँचपोखरी, धनुषसागर, गंगासागर र त्रिवेणीधामलगायत स्थानमा विशेष मेला लाग्दैछ।












