काठमाडौँ , ६ भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा भइरहेको प्रारम्भिक परीक्षण उत्पादनको शनिबार बिहान अवलोकन गरेकी छन्।
अवलोकनका क्रममा नेपाली सेनाले मन्त्री यादवलाई उद्योगको वर्तमान अवस्था, कारखानाका संरचना तथा सञ्चालनका लागि भइरहेका तयारीबारे जानकारी गराएको थियो। सरकारले उद्योगको मर्मतसम्भार तथा पुनः सञ्चालनको तयारीको जिम्मेवारी नेपाली सेनालाई दिएको छ।
करिब साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा हाल प्रारम्भिक चरणको परीक्षण उत्पादन सुरु गरिएको हो। उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले आवश्यक मर्मत, उपकरण व्यवस्थापन तथा प्राविधिक तयारीका काम अघि बढाइएका छन्।
लामो समयदेखि बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको प्रयासअन्तर्गत परीक्षण उत्पादन सुरु गरिएको हो।












