काठमाडौँ, ४ भदौ । आज विश्व लामखुट्टे दिवस नेपालमा पनि ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। लामखुट्टेको टोकाइबाट हुने रोगबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ ।
लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता रोग लाग्ने गर्छन् । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भएका छन् ।
स्वास्थ्य सेवा विभागका अनुसार गत वर्ष लामखुट्टे तथा कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए। जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा समेत यस्ता रोगको जोखिम बढ्दै गएको छ ।
कीट रोग नियन्त्रण शाखाका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लासम्म फैलिएको छ । रोग नियन्त्रणका लागि सरकारले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।












