काठमाडौँ, २५ साउन । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विभिन्न मन्त्रालयका सचिवहरूको बैठकले कार्यदल गठन गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठित कार्यदलले जुट मिलको आर्थिक, प्राविधिक, कानुनी तथा भौतिक अवस्था, सम्पत्ति–दायित्व र यसअघिका अध्ययन तथा निर्णयको समीक्षा गर्नेछ ।
कार्यदलले मिल पुनः सञ्चालनका सम्भावित विकल्प, लाभ–लागत विश्लेषण तथा आवश्यक नीतिगत, संरचनागत र कानुनी सुधारबारे अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन उद्योग मन्त्रालयमा बुझाउनेछ ।














