काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका सांसद प्रा.डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणमा भइरहेको ढिलासुस्तीले मधेसको शान्ति-सुरक्षामा असर पर्न सक्ने चेतावनी दिएका छन् ।
सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै यादवले ट्रमा सेन्टरका लागि आवश्यक तयारी पूरा भइसकेको अवस्थामा पनि सरकारले निर्माण प्रक्रिया अघि नबढाएको भन्दै असन्तुष्टि जनाए ।
ढल्केबरबाट ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै स्थानीय विरोधमा उत्रिएको उल्लेख गर्दै उनले समयमै सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।
उनले विकास निर्माणको विषयमा पुनः आन्दोलनको अवस्था सिर्जना भए अमनचयन बिग्रन सक्ने भन्दै स्वास्थ्य मन्त्रीलाई तत्काल पहल गर्न आग्रह गरे ।
साथै, ट्रमा सेन्टर निर्माणमा अवरोध किन भइरहेको हो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।














