काठमाडौँ, २४ साउन । नेपालमा आयोजना गर्न रोक लगाइएको तिब्बती अध्ययनसम्बन्धी १७औँ अन्तर्राष्ट्रिय सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ ।
आयोजक संस्था इन्टरनेसनल एसोसिएसन फर तिब्बेतेन स्टडिज -IATS- ले पूर्वनिर्धारित अगस्ट २३ देखि २९ सम्म अनलाइन सम्मेलन गर्ने जनाएको हो ।
काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज–सेन्टर फर बुद्धिस्ट स्टडिजले सहआयोजनाबाट हात झिकेपछि IATS ले सम्मेलनको जिम्मेवारी आफैँ लिने निर्णय गरेको हो ।
नेपाल सरकारले तिब्बती मामिलाको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्मेलन रोक्न निर्देशन दिएको थियो । आयोजकले भने सम्मेलन तीन वर्षअघि नै तय भएको र ७०० भन्दा बढी सहभागीले शुल्क तिरेर हवाई टिकट तथा होटल बुक गरिसकेको भन्दै कार्यक्रम रोकिँदा नेपाललाई आर्थिक तथा प्रतिष्ठागत क्षति पुग्ने दाबी गरेको छ ।
आयोजकले शिक्षामन्त्री सस्मित पोखरेलसँग कार्यक्रम सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गरे पनि सकारात्मक प्रतिक्रिया नआएपछि अनलाइन माध्यम रोजेको जनाएको छ ।
अब सहभागीहरूले आफू रहेकै स्थानबाट शोधपत्र तथा प्रस्तुति प्रस्तुत गर्न सक्नेछन् ।














