काठमाडौँ, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक–अधिकार सुनिश्चित गरेको बताएका छन् ।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र परम्परा नेपालको राष्ट्रिय गौरव भएको बताए ।
राष्ट्रपति पौडेलले राज्यका नीति निर्माण तथा निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत पुगेको उल्लेख गर्दै शिक्षा र आर्थिक सशक्तीकरणमा थप जोड दिनुपर्ने बताए ।
उनले तराई–मधेशसहित सबै क्षेत्रमा रहेका आदिवासी समुदायको अधिकार र न्याय सुनिश्चित नगरी समृद्ध नेपाल निर्माण सम्भव नहुने बताए ।
परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक बनाउँदै संस्कृति र पर्यटनसँग जोडेर आर्थिक लाभ लिनुपर्ने उनको भनाइ थियो ।














