जनकपुर, २३ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषाले रक्तसञ्चार सेवामा बिचौलियाको गतिविधि पूर्णरूपमा निषेध गरेको जनाएको छ ।
रेडक्रस धनुषाले सूचना जारी गर्दै रगतको कारोबार तथा बिचौलियाको काम नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । रक्तसञ्चारजस्तो संवेदनशील सेवामा बिचौलियाको प्रवेशले बिरामी तथा आफन्तलाई थप समस्या पर्न सक्ने भन्दै यस्तो गतिविधि नियन्त्रण गर्न कडाइ गरिएको जनाएको हो ।
रेडक्रसका अध्यक्ष्ँ पंकज महतोका अनुसार अब कुनै पनि प्रकारका रक्तसम्बन्धी बिचौलियालाई संस्थाको परिसरमा प्रवेश गर्न दिइने छैन ।
बिचौलियाको रूपमा काम गरिरहेको प्रमाणसहित फेला परेमा त्यस्ता व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ ।
रगत मानव जीवन बचाउने अमूल्य सेवा भएकाले यसको कारोबार वा बिचौलियामार्फत हुने गतिविधिलाई कुनै पनि अवस्थामा स्वीकार नगर्ने रेडक्रस धनुषाले स्पष्ट पारेको छ ।














