जनकपुरधाम । जनकपुरस्थित राम जानकी तत्मा कुटी परिसरमा स्थापना गरिएको लोटस केयर पोलिक्लिनिक प्रा.लि. को औपचारिक उद्घाटन गरिएको छ। मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्माले पोलिक्लिनिकको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा स्वजातीय समुदाय, शुभेच्छुक, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। पोलिक्लिनिकले जनकपुरमा विशेषगरी हाडजोर्नी तथा नसासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ।
पोलिक्लिनिकमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. शत्रुधन दासद्वारा फिजियोथेरापी सेवा प्रदान गरिनेछ। यहाँ प्यारालाइसिस, घुँडा, कम्मर तथा काँध दुखाइलगायत विभिन्न हाडजोर्नी र स्नायुसम्बन्धी समस्याको उपचार तथा पुनर्स्थापना सेवा उपलब्ध हुने जनाइएको छ।
त्यसैगरी पोलिक्लिनिकमा फिजिसियन, अर्थोपेडिक, न्युरोलोजी, गायनाकोलोजी, पेडियाट्रिक्स, प्रयोगशाला (ल्याब), एक्स–रे तथा सिटी स्क्यान लगायतका स्वास्थ्य सेवासमेत उपलब्ध हुने बताइएको छ।














