काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो आदेशबाट पार्टीभित्र उठेका प्रश्नबारे साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकले स्पष्ट धारणा तय गर्ने बताएका छन् ।
आदिवासी जनजाति महासङ्घको सम्मेलनमा बोल्दै थापाले विशेष महाधिवेशनको वैधानिकताबारे अदालतको प्रक्रियामा सहभागी भएर पार्टीले आफ्नो पक्ष प्रस्तुत गर्ने बताए ।
उनले विशेष महाधिवेशनको वैधानिकता हल, निर्वाचन आयोग र यसअघिको अदालतको आदेशबाट पुष्टि भइसकेको दाबी गरे । थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले संविधान संशोधनलाई हलुका रूपमा लिएको आरोप लगाउँदै संवैधानिक विषयमा संवेदनशीलता नअपनाए देश द्वन्द्वमा फस्न सक्ने चेतावनी दिए ।
उनले सरकारमा ‘शासकीय अराजकता’ देखिएको भन्दै प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।














