रौतहट, २१ साउन । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।
पल्टिएलगत्तै आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र चन्द्रपुर तथा निजगढ नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
घटनामा मानवीय क्षति नभए पनि ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ । दुर्घटनापछि केही समय अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अहिले सञ्चालनमा आएको छ ।
चालक समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।














