काठमाडौं, २० साउन । सरकारले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका तथा घाइते भएकालाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले सुनसरीको देवानगञ्ज र सिरहामा भएका घटनाका पीडितलाई राहत दिने निर्णय गरे पनि आन्दोलनका क्रममा धनुषामा घाइते भएका व्यक्तिहरूबारे भने निर्णयमा कुनै उल्लेख गरिएको छैन ।
धनुषामा प्रदर्शनका क्रममा गम्भीर घाइते भएका १२ वर्षीय आनन्द दास हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् ।
आन्दोलनका क्रममा घाइते भएका आनन्दको उपचार जारी रहे पनि मन्त्रिपरिषद्को निर्णयमा उनको अवस्था वा धनुषाका अन्य घाइतेबारे कुनै व्यवस्था नसमेटिएको भन्दै स्थानीय स्तरमा चासो व्यक्त हुन थालेको छ ।
स्थानीयवासी तथा सरोकारवालाले सुनसरी र सिरहाजस्तै धनुषामा घाइते भएकाहरूलाई पनि समान रूपमा राहत, उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।














