जनकपुर, २० साउन । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र लामो समयदेखि निष्क्रिय बन्दै जाँदा स्थानीयले अपेक्षित सेवा पाउन सकेका छैनन् ।
विपद् व्यवस्थापन र मानवीय सेवाका लागि स्थापना गरिएको केन्द्रमा अहिले सेवा ठप्प छ भने एम्बुलेन्स र रक्त संकलन बससमेत प्रयोगविहीन अवस्थामा थन्किएका छन् ।
स्थानीयले राहत सामग्री दुरुपयोग भएको, रगतलगायत आधारभूत सेवा नपाएको तथा केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
जिल्ला कार्यसमितिको निष्क्रियतापछि केन्द्रीय कार्यालयले जिल्ला समिति भंग गरी पंकज महतोको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ ।
नवनियुक्त सभापति महतोले केन्द्रको निरीक्षण गर्दै राहत सामग्री दुरुपयोगको छानबिन गर्ने, थन्किएका सवारीसाधन मर्मत गरी सञ्चालनमा ल्याउने र केन्द्रलाई पारदर्शी तथा समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।














