काठमाडौं, १९ साउन । सरकारले एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न प्रभावित जिल्लाहरूमा वितरण प्रणालीलाई थप व्यवस्थित, नियमित र प्रभावकारी बनाउने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको सरोकारवाला निकायहरूको बैठकले ग्यासको अभाव न्यूनीकरण गर्दै आगामी दशैं–तिहारलगायत चाडपर्वमा हुने बढ्दो मागलाई ध्यानमा राखी आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकमा गोविन्दबहादुर कार्कीले ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा सहज बनाउन सम्बन्धित निकाय र सरोकारवालासँग निरन्तर समन्वय र छलफल अघि बढाइने बताएका छन् ।
सरकारले आपूर्ति व्यवस्थापनमा देखिएका चुनौती समाधान गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने लक्ष्यका साथ आवश्यक व्यवस्थापनलाई तीव्रता दिने जनाएको छ ।














