हेटौँडा, १९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको निरन्तरता र राजनीतिक स्थिरताका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच दलसँग औपचारिक रूपमा समर्थन माग गरेका छन् ।
मुख्यमन्त्री बानियाँले नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी -एमाले-, राष्ट्रिय प्रजातन्त्र पार्टी र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेताहरूलाई पत्र पठाउँदै सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन् ।
गत साउन ६ गते एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले आगामी भदौ ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
उनले नयाँ सरकार गठनको स्पष्ट अवस्था नरहेको उल्लेख गर्दै सरकार परिवर्तनले विकास निर्माण र सेवा प्रवाह प्रभावित हुने भएकाले राजनीतिक सहकार्य आवश्यक रहेको बताएका छन् ।














