काठमाडौं, १९ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ बीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा पछिल्ला दिनहरूमा तराई–मधेश क्षेत्रमा विकसित सुरक्षा अवस्था, शान्ति व्यवस्थापन तथा सरकारले अपनाएका कदमबारे विस्तृत छलफल भएको थियो ।
हालै मधेशका विभिन्न जिल्लाको स्थलगत अनुगमन र सुरक्षा व्यवस्थापनमा सक्रिय रहेका गृहमन्त्री गुरुङले त्यहाँको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले सुनसरी घटनापछि उत्पन्न परिस्थितिदेखि हालसम्मको सुरक्षा अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा अपनाइने सुरक्षा रणनीतिबारे पनि आवश्यक छलफल गरेका छन् ।
गत साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बन्दै जाँदा सुरक्षाकर्मीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सोही घटनामा घाइते भएका थप दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका थिए । सुनसरीको घटनापछि तनाव अन्य जिल्लामा समेत फैलिएको थियो। सिरहामा पनि प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
त्यसपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो ।














