काठमाडौं, १८ साउन । विभिन्न सात राजनीतिक दलले नयाँ राजनीतिक सहकार्यको उद्देश्यसहित संयुक्त मोर्चा गठन गर्ने तयारी गरेका छन् ।
मधेस, संघीयता, समावेशिता र अग्रगामी राजनीतिक एजेन्डालाई साझा रूपमा अघि बढाउने लक्ष्यसहित दलहरू एउटै मोर्चामा आबद्ध हुन लागेका हुन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका अनुसार साउन २३ गते काठमाडौंको थापागाउँ, बानेश्वरस्थित काठमाडौं बैंकेटमा अग्रगामी मोर्चाको औपचारिक घोषणा गरिने कार्यक्रम तय गरिएको छ ।
मोर्चा घोषणासँगै सहभागी दलहरूले साझा राजनीतिक धारणा, आगामी रणनीति तथा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् ।
राउतका अनुसार मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी -नेपाल), जनमत पार्टी, आम जनता पार्टी, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी तथा बहुजन एकता पार्टी नेपाल आबद्ध हुनेछन् ।
दलहरूबीच पछिल्ला दिनमा साझा राजनीतिक एजेन्डा, संघीय लोकतान्त्रिक व्यवस्था, संविधान कार्यान्वयन, समावेशी प्रतिनिधित्व तथा समसामयिक राजनीतिक विषयमा सहकार्य गर्ने विषयमा छलफल हुँदै आएको थियो ।
त्यसैको निष्कर्षस्वरूप संयुक्त मोर्चा घोषणा गर्न लागिएको जनाइएको छ । राजनीतिक मुद्दामा संयुक्त आवाज उठाउने तथा आवश्यक परे संयुक्त आन्दोलन सञ्चालन गर्ने रणनीतिसमेत तय गरिने जनाएको छ ।
सहभागी दलहरूले आगामी राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै दीर्घकालीन सहकार्यको आधार तयार पार्न मोर्चा गठन गर्न लागेका हुन् ।














