जनकपुर, १७ साउन । आन्दोलनरत हिन्दुवादी मोर्चासँग वार्ता गर्न शनिबार जनकपुर आएका नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले आइतबार बिहान जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरमा पुगेर विशेष पूजा–अर्चना गरेका छन् ।
पत्रकारहरूले शनिबार सरकार र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच भएको वार्ताको विषयमा जिज्ञासा राखेका थिए । सञ्चारकर्मीले …हिजो भएको वार्ता सहमति भएको हो कि आन्दोलनकारी पक्षको मागपत्र बुझ्ने प्रक्रिया मात्र थियो ? भन्ने प्रश्न गरेका थिए ।
तर गृहमन्त्री गुरुङले उक्त प्रश्नको कुनै जवाफ दिएनन् । उनी प्रश्नको उत्तर नदिई त्यहाँबाट बाहिरिएका थिए । शनिबार भएको वार्तापछि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा वार्ताको उपलब्धिबारे फरक–फरक टिप्पणी भइरहेका छन् ।
कतिपयले वार्तामा सहमति भएको दाबी गरिरहेका छन् भने केहीले आन्दोलनकारी पक्षले आफ्ना मागहरू मात्र सरकारसमक्ष प्रस्तुत गरेको बताएका छन् ।
यसै विषयमा स्पष्ट धारणा सार्वजनिक हुने अपेक्षा गरिए पनि गृहमन्त्रीले मौनता अपनाएपछि वार्ताको वास्तविक निष्कर्षबारे अन्योल कायमै रहेको छ ।
सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा विकसित परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आन्दोलनरत पक्षसँग संवादमार्फत समाधान खोज्ने प्रयासस्वरूप गृहमन्त्री गुरुङको नेतृत्वमा वार्ता टोली जनकपुर आएको थियो ।
शनिबार दुई चरणमा भएको वार्तापछि दुवै पक्षले संवादलाई निरन्तरता दिने सहमति जनाएको भए पनि वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-750x375.jpeg)










![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-120x86.jpeg)

