काठमाडौं, १५ साउन । सुनसरीसहित विभिन्न जिल्लामा देखिएको तनावका बीच हिन्दु र मुस्लिम धार्मिक संस्थाका अगुवाहरूले नागरिकलाई शान्त, संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेसँग सिंहदरबारमा भएको भेटपछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा–ए–नेपालका प्रतिनिधिहरूले संयुक्त अपिल जारी गर्दै धर्मको नाममा हिंसा, घृणा र सामाजिक सद्भाव बिगार्ने गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेका हुन् ।
उनीहरूले सबै धर्मले सहिष्णुता, मानव कल्याण र सामाजिक एकताको सन्देश दिने उल्लेख गर्दै प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजलाई संवाद र सहकार्यमार्फत शान्ति कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।















