काठमाडौं, १३ साउन । सुनसरीको देवानगञ्जमा आइतबार भएको साम्प्रदायिक झडपपछि अवस्था अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन ।
प्रभावित क्षेत्रमा कफ्र्यु जारी छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा निगरानी बढाएका छन् । घटनापछि देशभर त्रासको अवस्था कायम रहँदा बुधबार सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम गर्न पहल गर्ने सहमति गरेको छ ।
विभिन्न समुदाय र धर्मगुरुहरू पनि सद्भाव कायम गर्ने अभियानमा सक्रिय छन् । यद्यपि, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवानगञ्ज घटनाबारे कुनै निर्णय वा औपचारिक धारणा सार्वजनिक गरेन ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारको प्रश्नमा पनि यस विषयमा प्रतिक्रिया दिएनन् । पर्साको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि देशभर चिकित्सकले सेवा प्रभावित बनाएको विषयमा पनि मन्त्रिपरिषद् मौन रहेको छ ।














