विराटनगर, १२ साउन । सुनसरीको देवानगञ्ज घटनापछि चर्किएको प्रदर्शनका कारण इनरुवा बजार र पकलीदेखि कोशी ब्यारेजसम्मको मुख्य राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ ।
देवानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रदर्शन, तोडफोड र आगजनी बढेपछि प्रशासनले कफ्र्यू लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार अर्को सूचना नभएसम्म तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सभा–बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।














