काठमाडौं, १२ साउन । केन्द्रमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी -नेकपा)बीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले आज मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन् ।
मुख्यमन्त्रीले समय नदिएका कारण आइतबार तयार गरिएको राजीनामा पेश हुन नसकेको कांग्रेसले जनाएको छ । कांग्रेसले नयाँ राजनीतिक समीकरणपछि सरकारमा बसिरहन नैतिक रूपमा उचित नहुने भन्दै मन्त्रीहरूको राजीनामा लिएको हो ।
उता केन्द्रको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तयारी भए पनि मुख्यमन्त्रीको विषयमा एमालेभित्रै प्रतिस्पर्धा देखिएको छ ।
यस्तै, प्रदेशसभामा स्पष्ट बहुमत नपुग्ने भएकाले नयाँ सरकार गठनका लागि साना दलहरूको समर्थन आवश्यक पर्ने अवस्था रहेको छ ।














