विराटनगर, १२ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सोमबार राति विराटनगर पुगेको छ ।
गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते र प्रत्यक्ष पीडितसँग बयान संकलन सुरु गरेको छ ।
समितिले घटनास्थल कप्तानगञ्ज पुगेर निरीक्षण गर्ने, प्रत्यक्षदर्शीका भनाइ, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा घटनाको छानबिन प्रतिवेदन तयार पार्ने जनाएको छ ।
सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा बसेको गृह मन्त्रालयको बैठकले समिति गठन गर्दै सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । घटनाको विषयमा गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा बैठकसमेत बसेको थियो ।
देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले उक्त क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ ।














