काठमाडौं, ८ साउन गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमन र जनगुनासो बुझ्न अब गृहमन्त्री स्वयं जानेभन्दा सादा पोशाकको स्पेशल टास्क फोर्स परिचालन गरिने बताएका छन्।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले आफ्नो सीमा भ्रमणलाई केहीले ‘स्टन्ट’ को संज्ञा दिएको उल्लेख गर्दै अब विशेष टोलीमार्फत प्रभावकारी अनुगमन गरिने जानकारी दिए।
गृहमन्त्री गुरुङले सीमावर्ती क्षेत्रका नागरिकको वास्तविक समस्या बुझ्न सादा पोशाकमा खटिने टोली गठन गर्ने तयारी भइरहेको बताए।
उनले मधेश, कर्णाली र सुदूरपश्चिमलाई गृहमन्त्रालयको विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै ती क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए। साथै जनताको पीडालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनले जोड दिए।














