काठमाडौं, ८ साउन । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि चर्को ऋण लिनुपर्ने श्रमिकको बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
‘नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट’ सम्मेलनलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारसम्बन्धी नीति र कानुनलाई व्यवहारिक तथा वैज्ञानिक बनाइने बताए। ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिलाई प्रभावकारी बनाउन पुनरावलोकन गरिने र संशोधित वैदेशिक रोजगार ऐन लागू भएपछि भर्ना प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइने उनको भनाइ छ।
मन्त्री यादवले श्रमिकमाथिको आर्थिक भार र शोषण कम गर्दै रोजगारदाताले नै सम्पूर्ण भर्ती खर्च बेहोर्ने ‘एम्प्लोयर पे’ प्रणाली लागू गर्ने लक्ष्य रहेको बताए। साथै, श्रमिकका गुनासा सहज रूपमा सम्बोधन गर्न वैदेशिक रोजगार विभागमार्फत ‘उजुरी डट डीओएफई’ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइएको जानकारी दिए।














