काठमाडौं, ८ साउन । काठमाडौं महानगरपालिका–३० मा कार्यरत लेखा अधिकृत उद्धव भट्टराई घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
आयोगका अनुसार स्थायी लेखा नम्बर -प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै घुस मागिएको भन्ने उजुरीका आधारमा विशेष निगरानी गरिएको थियो। सोही क्रममा भट्टराईलाई घुस रकमसहित पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।














