काठमाडौं, ७ साउन l आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशत बढी हो। भन्सार विभागका अनुसार यो हालसम्मकै उच्च वैदेशिक व्यापार हो।
गत आवमा नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गर्दा ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ। यससँगै व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ।
निर्याततर्फ १ खर्ब २८ अर्ब रुपैयाँको सोयाबिन तेल सबैभन्दा बढी निर्यात भएको वस्तु बनेको छ भने अलैँची दोस्रो स्थानमा रहेको छ। आयाततर्फ भने डिजेल, पेट्रोल, एलपी ग्यास र कच्चा सोयाबिन तेल मा सबैभन्दा बढी विदेशी मुद्रा खर्च भएको छ।
तथ्यांकअनुसार नेपालका प्रमुख व्यापारिक साझेदार भारत र चीन हुन्। भारतसँग निर्यात–आयात दुवै उच्च रहे पनि चीनसँगको व्यापारमा आयात अत्यधिक र निर्यात न्यून रहेको भन्सार विभागले जनाएको छ।














