काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हाल नेपालको वाम आन्दोलनले केही धक्का खाए पनि फेरि सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले पुष्पलाल श्रेष्ठ र बीपी कोइरालालाई नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनका महान व्यक्तित्वको रूपमा स्मरण गरेका हुन् ।
उनले पुष्पलालका विचार र नीतिहरू आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै मदन भण्डारीको नेतृत्वमा एमालेले ती नीतिलाई व्यवहारमा उतारेको बताए ।
पुष्पलाल र बीपीबाट प्रेरणा लिएर वाम आन्दोलन पुनः सशक्त रूपमा अघि बढ्ने उनको विश्वास छ ।














