एजेनशी, । दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा भारतको बिहार राज्यको राजधानी पटनामा बुधबार विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
प्रदर्शन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन -आइसा) को आह्वानमा आयोजना गरिएको थियो, जसमा आइसासँगै अन्य विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।
प्रदर्शनकारीहरूको ¥याली पटनास्थित गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएको थियो। उनीहरू राजभवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले गान्धी मैदान नजिकैको जेपी गोलम्बर क्षेत्रमा उनीहरूलाई रोकेको थियो। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यासका गोला प्रहार गर्नुका साथै वाटर क्याननसमेत प्रयोग गरेको थियो ।
त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बताइएको छ । झडपका क्रममा केही विद्यार्थी प्रदर्शनकारी र घटनास्थलमा समाचार संकलन गरिरहेका सञ्चारकर्मी घाइते भएका छन् ।
घाइतेहरूको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रदर्शनकारीहरूले दिल्लीमा जारी विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आफ्ना मागप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
घटनापछि पटनाको उक्त क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।














