सर्लाही, ६ साउन । रोपाइँका बेला नेपालमा रासायनिक मल अभाव भएपछि भारतबाट मल ल्याउँदै गरेका सर्लाहीका दुई किसान दाजुभाइ २२ दिनदेखि भारतीय जेलमा छन् ।
बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह -५५- र नागेन्द्रप्रसाद सिंह -६०) लाई गत असार १७ गते भारतको सोनवर्षा बजारबाट २ बोरा युरिया र ६ बोरा डीएपी मल साइकलमा ल्याउँदै गर्दा भारतीय कृषि विभाग र एसएसबीको टोलीले मल तस्करीको आरोपमा पक्राउ गरेको थियो। उनीहरू हाल सीतामढीको डुमरा कारागारमा छन् ।
उनीहरूको रिहाइका लागि नेपाली दूतावास, परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासनले पहल गरिरहेका छन् । तर कानुनी प्रक्रिया र अदालतमा ढिलाइका कारण धरौटीमा रिहाइ हुन नसकेको परिवारले जनाएको छ ।














