काठमाडौँ, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद -वीपी- कोइरालाको स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा विविध कार्यक्रम आयोजना गरेका छन्। वि.सं. २०१५ को निर्वाचनपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका वीपीले बिर्ता उन्मूलन र भूमिसुधार कार्यक्रम लागू गरेका थिए ।
राजनीतिसँगै साहित्यमा पनि महत्वपूर्ण योगदान दिएका कोइरालाको निधन वि.सं. २०३९ साउन ६ गते भएको थियो ।














