जनकपुर, ५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता-कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका छन् ।
मंगलबार साम्पाङ जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेकाले उनका समर्थक स्वागतका लागि पुगेका थिए । हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा दिएको गाई काटेर खानुपर्ने अभिव्यक्तिलाई आधार बनाउँदै उनलाई मन्दिर प्रवेशमा निषेध गर्ने घोषणा गरेको थियो ।
घटनापछि साम्पाङले फेसबुकमार्फत गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें, यो कस्तो राजनीति हो? भन्दै प्रतिक्रिया दिएका छन् ।
उनले अर्को स्टाटसमा जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ उल्लेख गर्दै आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन् ।
साम्पाङ जनकपुरमा आयोजित श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका हुन् ।














