काठमाडौं, ५ साउन । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक २७ वर्षीया सालु गुरुङले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन् ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई बौद्धमा बस्दै आएकी उनले आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा राति करिब २:५० बजे आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घाइते गुरुङलाई सुरुमा शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ ।
अस्पतालका अनुसार उनको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको छ र आईसीयूमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा घरायसी विवादपछि उनले आत्मदाहको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ ।














