काठमाडौं, ४ साउन । देशभर मनसुन सक्रिय रहेकाले सोमबार दिनभर र राति पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भूभागका धेरै स्थान तथा मधेससहित तराईका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। काठमाडौं उपत्यकामा पनि अपराह्न र राति हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
महाशाखाले वर्षाका कारण हुन सक्ने बाढी, पहिरो, डुबान र सडक आवागमनमा पर्ने असरप्रति सतर्क रहन आग्रह गरेको छ ।














