काठमाडौं, २ साउन । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले प्रदेश संसदीय दलले निर्देशन दिएको छ ।
दलका नेता जगन्नाथ थपलियाले केन्द्रको पछिल्लो राजनीतिक निर्णय र बदलिँदो सत्ता समीकरणलाई मध्यनजर गर्दै मन्त्रीहरूलाई पदत्याग गर्न निर्देशन दिएको एमाले स्रोतले जनाएको छ ।
एमालेका अनुसार केन्द्रमा विकसित राजनीतिक परिस्थितिअनुसार प्रदेशमा पनि नयाँ सत्ता समीकरण बन्ने सम्भावना रहेकाले सरकारमा निरन्तर रहनु उपयुक्त नहुने निष्कर्ष निकालिएको हो ।
यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए । तर पार्टीको केन्द्रीय निर्देशन नआएकाले निर्णय स्थगित गरिएको थियो।
अब भने नयाँ सत्ता समीकरणका लागि मार्गप्रशस्त गर्न मन्त्रीहरूले पदबाट बाहिरिने तयारी गरेका छन् । हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ रहेका छन् ।
एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने वा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने विषय अबको राजनीतिक छलफल र समीकरणमा निर्भर रहनेछ ।














