सुनसरी, १ साउन । सप्तकोशी नदीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेका छन् । हाल कोशीमा प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पानी बगिरहेको छ भने ब्यारेजका २० वटा ढोका खोलिएका छन् ।
जलप्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था गरिएको छ । प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै उद्धार, राहत, सुरक्षित स्थानान्तरण तथा पुनःस्थापनाका लागि आवश्यक तयारी पूरा गरिएको जनाएको छ ।
कमजोर तटबन्धको मर्मतसम्भार गरिएको र आवश्यक परे सुरक्षा निकाय तत्काल परिचालन हुने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।














