काठमाडौँ, १ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा -एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाह संलग्न रहेको भनाइ प्रमाणित नभएको बताएका छन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम प्रसङ्गसँग जोडेर तयार गरिएको ‘रेडिमेड कथा’ विश्वव्यापी रूपमा फैलाइएको दाबी गरे ।
उनका अनुसार आफ्नै परिवारको वंशनाश गरेर दीपेन्द्रले आत्महत्या गरेको भनाइको सत्यता अहिलेसम्म पुष्टि भएको छैन ।
ओलीले दरबार हत्याकाण्डको वास्तविक दोषी को हो भन्ने विषय अझै स्पष्ट नभएको उल्लेख गर्दै घटनाबारे निष्कर्षमा पुग्न पर्याप्त अध्ययन र तथ्य आवश्यक रहेको बताए । उनले भने, दरबार हत्याकाण्डपछि तत्कालै एउटा तयार कथा विश्वभर फैलाइयो।
तर २० वर्षभन्दा बढी समय बितिसक्दा पनि त्यसको वास्तविक सत्य के हो, त्यो कथा कसले बनायो र किन फैलाइयो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन ।














