काठमाडौं, ३२ असार । सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न सात महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।
बैठकले मिटरब्याज -अनुचित लेनदेन- पीडितका माग सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
टोलीमा अर्थ, गृह, भूमि व्यवस्था तथा संघीय मामिला मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन् । यस्तै, सरकारले १ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ भने नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापना गर्न दक्षिण कोरियाबाट प्राप्त हुने १८ लाख १० हजार अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
बैठकले संरक्षित क्षेत्रभित्र राष्ट्रिय वनका रुख तथा पोल हटाउने प्रक्रियालाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयबाटै स्वीकृत गर्न सकिने व्यवस्था गरेको छ ।
साथै, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति -गठन- पहिलो संशोधन अध्यादेश, २०८३Ú अनुमोदन तथा सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था पनि स्वीकृत गरेको छ ।














