काठमाडौं, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
गएराति बा १ ञ १६५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान–१३ निवासी ३२ वर्षीय बिर्खबहादुर राई र धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा भ्यानमा सवार धरान–२० निवासी ३२ वर्षीय पवन राई घाइते भएका छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भ्यान आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














