जनकपुर, २९ असार । जनकपुर उपमहानगरपालिका-१४ को एक गल्लीमा जडान गरिएको फलामे विद्युत पोलको जरा भागमा व्यापक रूपमा खिया लागेपछि पोल ढल्ने जोखिम बढेको छ ।
स्थानीयवासीले उक्त पोल कुनै पनि बेला ढल्न सक्ने भन्दै तत्काल मर्मत वा प्रतिस्थापन गर्न माग गरेका छन् । यस विषयमा नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका सह–प्रबन्धक प्रविन कुमार मिश्रासँग बुझ्दा उनले समस्या चाँडै समाधान गरिने बताएका छन् ।
उनले प्राधिकरणमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए । यता स्थानीयवासी तथा पूर्व वडा अध्यक्ष रामवरण पासमानले प्राधिकरणलाई पटक-पटक लिखित रूपमा जानकारी गराउँदा पनि ध्यान नदिएको आरोप लगाए ।
उनका अनुसार जनकपुरका धेरै गल्ली र सडकमा यस्तै जीर्ण तथा खिया लागेका विद्युत पोल रहेका छन्, जसले दुर्घटनाको जोखिम बढाएको छ ।
स्थानीयले सम्भावित मानवीय क्षति रोक्न जनकपुरका सबै जोखिमपूर्ण विद्युत पोलको तत्काल निरीक्षण गरी मर्मत तथा प्रतिस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।














