विराटनगर, २९ असार । कोशी अस्पतालको स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गराउन सोमबार बिहानदेखि डोजर परिचालन गरी अवैध संरचना भत्काउन थालिएको छ ।
सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयलगायतले व्यावसायिक संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए ।
अस्पतालले गुरुयोजना कार्यान्वयनका लागि पटक–पटक हटाउन आग्रह गरे पनि अतिक्रमण कायम रहेपछि सार्वजनिक सूचनाको म्याद सकिएसँगै डोजर चलाइएको हो ।
अस्पताल प्रशासनले अतिक्रमित जग्गा सेवा विस्तारका लागि उपयोग गरिने जनाएको छ । यद्यपि, भवन भत्काइएपछि रेडक्रसको रक्त सञ्चार सेवासहित केही सेवामूलक संस्थाको नियमित सञ्चालन प्रभावित भएको छ ।














