सिरहा, २८ असार । सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन् ।
अवास शेख करिब तीन दशकदेखि गोलबजार–७ मा परिवारसहित बसोबास गर्दै आएका छन् । उनी घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका थिए । प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजेतिर घरबाट खेल्न निस्किएका तीनै बालबालिका पशु हाटबजार परिसरमा गाई, गोरु तथा भैंसीलाई पानी खुवाउन बनाइएको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका हुन् ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएका थिए । तर चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन् ।
घटनापछि उक्त क्षेत्रमा शोकको वातावरण छाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।














