जनकपुर, २८ असार । जनकपुरमा आयोजित ‘परिवर्तनको उद्घोष सभामा रास्वपा नेता बालेन शाहले “तपाईंहरू काठमाडौं अधिकार लिन होइन, घुम्न आउनु” भन्ने अभिव्यक्ति दिएका थिए। तर अहिले जनकपुरबाट काठमाडौंसम्म मिटरब्याज पीडितहरू न्याय र अधिकारको माग गर्दै पैदल यात्रा गर्न बाध्य भएको भन्दै उक्त अभिव्यक्तिको सामाजिक सञ्जालमा पुनः चर्चा हुन थालेको छ।
जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याज पीडितहरूको पैदल न्याय मार्च चौथो दिन लालबन्दीबाट काठमाडौंतर्फ अघि बढेको छ। सरकारले पटक–पटक सहमति गरे पनि त्यसको कार्यान्वयन नगरेकाले दबाब दिन फेरि राजधानीसम्म पदयात्रा गर्नुपरेको आयोजकहरूको भनाइ छ।
सयौँ सहभागीले “चुपचाप तमसूक फाड” र “अधिकार माग्न काठमाडौं जान पर्दैन” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर दैनिक २०-२६ किलोमिटर पैदल यात्रा गरिरहेका छन्। उनीहरू करिब एक साताभित्र काठमाडौं पुग्ने लक्ष्यसहित न्याय र अधिकारको माग गर्दै अघि बढिरहेका छन्।
यसैबीच, बालेनको पुरानो अभिव्यक्तिसँग अहिलेको अवस्थाको तुलना गर्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्। यद्यपि, मिटरब्याज पीडितहरूको पदयात्रा र बालेनको उक्त भनाइबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन। पीडितहरूले भने सरकारसँग भएका सहमति कार्यान्वयन, न्याय सुनिश्चितता र आफ्नो अधिकारको माग गर्दै आन्दोलन जारी राखेका छन्।














