जनकपुर, २७ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने उद्देश्यले आइतबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाएको छ ।
आर्थिक वर्ष सकिन चार दिन मात्र बाँकी रहेकाले बजेट पारित नभए प्रदेश आर्थिक संकटमा पर्न सक्ने भन्दै बैठक बोलाइएको हो ।
प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको शनिबारको बैठकले बैठक आह्वान गर्ने निर्णय गरेको हो । बजेट विवाद समाधानका लागि आइतबार बिहान ११ बजे सर्वदलीय बैठक पनि बस्नेछ ।
बजेटलाई कमीशनमुखी र निर्वाचन क्षेत्र केन्द्रित भएको आरोप लगाउँदै विपक्षी दलहरूले असार १४ गतेदेखि प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रमुख प्रतिपक्षी जसपा नेपालले जनहितभन्दा राजनीतिक स्वार्थ र सेटिङका आधारमा बजेट ल्याइएको भन्दै विरोध जनाएको छ ।














