काठमाडौं, २७ असार । जनपक्षीय ट्रेड युनियन महासंघले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर शनिबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
महासंघले गणेश नेपाली आत्मदाह गर्न बाध्य हुनुमा राज्य जिम्मेवार रहेको आरोप लगाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र युवालाई सम्मानजनक रोजगारीको व्यवस्था गर्न माग गरेको छ ।
युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पु¥यायो? भन्ने मुख्य ब्यानरसहित आयोजित प्रदर्शनमा सहभागीहरूले वर्तमान सरकारको चर्को आलोचना गर्दै विभिन्न नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा उनीहरूले सरकारलाई श्री ३ सरकारको संज्ञा दिएका थिए । प्रदर्शनकारीहरूले युवालाई आत्मदाह गर्ने बाध्यता होइन, रोजगार देऊ,गणेश नेपालीको हत्यारा सरकार–मुर्दावाद श्री ३ बालेन, रवि, स्वर्णिम सरकार लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
महासंघले बढ्दो बेरोजगारी, निराशा र राज्यको गैरजिम्मेवार नीतिका कारण युवाहरू चरम कदम चाल्न बाध्य भएको दाबी गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेको छ ।
प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो ।














