काठमाडौं, २६ असार । मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर प्रतिनिधिसभामा पक्ष–विपक्षबीच बहस भएको छ ।
विपक्षी दलहरूले घटनाप्रति सरकारको जिम्मेवारी उठाउँदै ध्यानाकर्षण गराएका छन् भने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सांसदहरूले घटनालाई राजनीतिक रूपमा अतिरञ्जित नगर्न आग्रह गरेका छन् ।
रास्वपाका सांसद गणेश कार्कीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दैनिक १८ जनाले आत्महत्या गर्ने तथ्यांक प्रस्तुत गरेका छन् । उनले एउटै घटनामात्र होइन, आत्महत्याको बढ्दो प्रवृत्तिको मूल कारण खोज्दै कानुन, मानसिक स्वास्थ्य र राज्यको भूमिकाबारे गम्भीर छलफल आवश्यक रहेको बताए ।
त्यस्तै सांसद जगदीश खरेलले पनि गणेश नेपालीको मृत्यु दुःखद भएको उल्लेख गर्दै सरकारले निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिनुपर्ने बताए ।
उनले नेपालमा हरेक वर्ष करिब ७ हजार जनाले आत्महत्या गर्ने र ठूलो संख्यामा नागरिक मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुने तथ्यांक प्रस्तुत गर्दै मानसिक स्वास्थ्यलाई राष्ट्रिय नीतिको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे ।














