काठमाडौँ, २४ असार । सरकारले मन्त्रिपरिषद् बैठकका आठ महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै गेटा अस्पताल, कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
त्यसैगरी, मन्त्रिपरिषद्ले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन तथा नियमन) नियमावली, २०८३ र शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए।
बैठकले कारागार नियमावली, २०८३, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८४–२०८७/८८) तथा भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८३–२०८७/८८) पनि स्वीकृत गरेको छ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।














