काठमाडौँ, २४ असार । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई लक्षित गर्दै सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न? भन्ने प्रश्न गरेपछि सदनमा केहीबेर तनावको अवस्था सिर्जना भएको छ ।
सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक सुरु गरेलगत्तै विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले पहिलो पटक नेपाली कांग्रेसका सांसदलाई र त्यसपछि एमाले सांसद राजेन्द्र राईलाई बोल्ने समय दिएका थिए ।
आफ्नो मन्तव्य सुरु गर्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न? भनेपछि सभामुख अर्यालले तत्काल उनलाई रोकेका थिए ।
सभामुख अर्यालले सांसद राईलाई आफ्नो अभिव्यक्ति संसदीय मर्यादाभित्र रहेर राख्न निर्देशन दिँदै चेतावनी दिएका थिए । तर राईले आफ्नो भनाइ रोक्न नखोजेपछि सभामुखले सभामुखको अवहेलना गर्दै हुनुहुन्छ, भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि सभामुख अर्यालले सांसद राईलाई थप बोल्न नदिई अर्को वक्ताका रूपमा सांसद परशुराम तामाङलाई बोल्ने समय दिएका थिए ।














