सिरहा, २३ असार । सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले मंगलबार सिरहाको कर्जन्हा नगरपालिका–४ बाट यादवलाई घुस रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगमा विभिन्न स्थानबाट ल्याइएको काठसम्बन्धी प्रक्रिया मिलाइदिने भन्दै यादवले तीन ट्रक काठका लागि प्रति ट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए ।
सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगको टोलीले निगरानी बढाएको थियो । सोही क्रममा यादवलाई घुस रकम बुझ्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।














